तिन नम्बर प्रदेशको पर्यटन प्रबर्द्धनको लागि ३ अर्ब विनियोजन

तामसालिङ खबर
११ आश्विन २०७६, शनिबार १२:२८

असोज ११, हेटौडा – तिन नम्बर प्रदेशको सरकारले प्रदेशको पर्यटन विकास र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन रु तीन अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लामा पर्यटन प्रबर्द्धनका लागि रु दुई अर्ब ८७ करोड ९५ हजार विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि रु एक अर्ब एक करोड ५३ लाख ९५ हजार र स्थानीय पर्यटन प्रवद्र्धन कार्यक्रमको लागि रु ५९ करोड ७५ लाख छुट्याएको छ ।

त्यस्तै पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपत्यका क्षेत्रका ३ जिल्ला बाहेक १० वटा जिल्लाका एक-एक वटा पर्यटकीय गन्तव्य निर्माण गर्ने तथा प्राचीन गढीहरुको पुनःनिर्माण गर्ने योजना बनाएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए ।

रसुवा र सिन्धुपाल्चोकको सिमानामा रहेको गुञ्जला पासमा पैदल मार्ग निर्माणका लागि रु तीन करोड, जुगल र गौरीशङ्कर हिमालको परिपथ निर्माणका लागि रु ५० लाख, १० स्थानमा हिल स्टेशन अन्तर्गत भ्युटावर, बगैँचा, विश्राम घर तथा मनोरञ्जन घर निर्माणका लागि रु दश करोड विनियोजन गरेको छ ।

मन्त्रालयले शैलुङ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु एक करोड पचास लाख, हेटौँडामा सिटी भ्यु टावर निर्माणका लागि रु दुई करोड, रुबी भ्याली गणेश हिमाल पदमार्ग निर्माणका लागि रु २० लाख, होमस्टे सञ्चालन गर्न चाहनेलाई सीप विकासको तालीम प्रदान गर्न रु ३५ लाख, लोकमार्गको किनाराको होटलमा अतिथि सत्कार र सरसफाइका लागि रु २० लाख, नेपाल भ्रमण वर्ष २०२०, प्रदेश पर्यटन दशक २०२० देखि २०३० को प्रवद्र्वनात्मक कार्यक्रमका लगि रु १० लाख र पर्यटन प्रवद्र्वनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रचारप्रसारका लागि रु ३५ लाख, सामाजिक सञ्चालबाट प्रचारप्रसार गर्न रु २० लाख गरी रु एक अर्ब एक करोड ५३ लाख ९५ हजार विनियोजन गरेको मन्त्रालयले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*