भाइरल गायिका रानु मन्डलको फिल्म बन्ने

तामसालिङ खबर
१० आश्विन २०७६, शुक्रबार ०९:१०

असोज, एजेन्सी – रानु मन्डल अब बलिउडमा नयाँ नाम होइन । केही साताअघि मात्र बलिउड गायिकाका रूपमा ‘डेब्यू’ गरे पनि उनको चर्चा कुनै ‘सेलेब्रेटी’ भन्दा कम छैन । सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म उनको स्वरको चर्चा चलिरहेको छ ।

गायक तथा संगीतका हिमेश रेशमियाले आफ्नो आगामी फिल्ममा रानुलाई गीत गाउने माैका दिँदै ‘तेरी मेरी कहानी’ गीत सार्वजनिक गरिसके । रानुको पहिलो व्यवसायिक गीतले धेरै प्रशंसा पनि पाएको छ ।

भारतको पश्चिम बंगालस्थित रानाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानु ‘भिकारी’बाट रातारात बलिउड गायिका बनेकी हुन् । उनको जीवनको फड्को साँच्चै उल्लेखनीय छ ।

यही कारणले होला उनको जीवनमा अब फिल्म निर्माताहरूले पनि चासो दिएका छन् । भारतीय सञ्चारमाध्यम ‘आइएनएस’का अनुसार फिल्मनिर्माता ऋषिकेश मन्डलले रानुको जीवनमा आधारित फिल्म बनाउने भएका छन् । यो बायोपिकमा ऋषिकेशले राष्ट्रिय फिल्म अवार्ड विजेता बंगाली अभिनेत्री सुदीप्ता चक्रवर्तीले रानुको भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।

ऋषिकेशले एक अन्तर्वार्तामा भनेका छन्, ‘सुदीप्ता चक्रवर्तीलाई यो भूमिकाका लागि प्रस्ताव गरिएको छ। उनले टुंगो नै त दिइसकेकी छैनन्, तर मलाई लाग्छ रानु मन्डलको भूमिका सुदीप्ताले जत्तिको राम्रो कसैले निर्वाह गर्न सक्दैनन्। सुदीप्ता एक प्रतिभाशाली अभिनेत्री हुन्।’

अभिनेत्री सुदीप्ताले पनि आफूलाई रानुको बायोपिकको प्रस्ताव आएको स्वीकारेकी छन्। तर निधो भने गरेकी छैनन्। उनले भनेकी छन्, ‘फिल्मको प्रस्ताव आएको हो तर अहिलेसम्म स्क्रिप्ट पाएकी छुइनँ। त्यसैले पढेरै निर्णय गर्छु ।’

रानुको व्यक्तिगत जीवनबारे भइरहेका चर्चा र उनको वास्तविक जीवनका कस्ता पाटा उजागर गर्दै फिल्म बन्नेछ भन्ने त फिल्म बनेर रिलिज भएपछि मात्रै थाहा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*