राष्ट्र बैंक मार्फत यी स्थानमा नयाँ नोट सट्न पाइने
असोज ३, हेटौडा – नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १० गते देखि नयाँ नोट सटही सुरु गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गते देखि १७ गते सम्म नयाँ नोट सटही हुने जनाएको छ ।
बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ । थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछन् ।
उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीको राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछन् ।
त्यस्तै, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ । राष्ट्र बैंकको बालुवाटार कार्यालय सहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ ।
उपत्यकाको लागि नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।