‘भिजिट नेपाल २०२०’ सफल बनाउन फोटो नेपाल डटकम शुरु, फोटो यसरी अपलोड गर्नुहोस ।
भदौ २७ हेटौडा – ‘भिजिट नेपाल २०२०’ सफल बनाउन नेपाल पर्यटन बोर्डले फोटो नेपालको वेबसाइट शुरु गरेको छ । बोर्डले फोटोको माध्यमबाट नेपालको प्रबर्द्धन गर्ने भन्दै वेबसाइट शुरु गरेको बताएको छ ।
फोटो नेपाल डट वेलकम नेपाल डटकम (https://photonepal.welcomenepal.com/) नामको यो वेबसाइटमा इच्छुक सबैले फोटो अपलोड गर्न पाउने छन् । त्यो भन्दा पहिले खाता खोल्नुपर्ने छ । यसरी खाता खोलेपछि फोटोको विवरण सहित अपलोड हुने बताएको छ ।
फोटो अपलोड भएको केही समयपछि साइटमा देखिने छ । यसरी एकातिर यो साइटबाट नेपालका विभिन्न गन्तव्यको विश्वव्यापी प्रबर्द्धन हुने र अर्कोतिर फोटोग्राफरहरुलाई पनि फाइदा हुने नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले बताउनु भयो ।
यसमा फोटो अपलोड गर्दा निशुल्क दिने वा शुल्क लिने भन्ने कुरा छनौट गर्न सकिने छ । शुल्क लिने भनेर अपलोड भएमा कसैले प्रयोग गर्न चाहेमा सिधै फोटोग्राफरसँग सम्पर्क गर्न सक्ने छ । अहिले दैनिक पाँच हजार भिजिटर रहेको बोर्डको वरिष्ठ अधिकृत सुवेदीले जानकारी दिए । भिजिट नेपाल २०२० आउनै लाग्दा यस्ता गतिविधिले नेपालको प्रबर्द्धनमा बृद्धि हुने बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले बताए ।