मकवानपुरमा राष्ट्रिय माझी गोल्डकप कार्तिकमा हुने

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार ०८:३२

भदौ २७, हेटौंडा – मकवानपुरमा प्रथम राष्ट्रिय माझी गोल्डकप हुने भएको छ । फूटबलमा माझी समुदायका युवाहरुलाई सहभागी गराई सिमान्तकृत समुदायको पहिचानमा सहयोग पुर्याउने उद्देश्यले प्रथम राष्ट्रिय माझी गोल्डकप आगामी कार्तिक १ गते देखि हुने प्रतियोगिताबारे बिहिबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

नेपाल माझी उत्थान संघ मकवानपुरको अध्यक्ष आशिष माझीले प्रतियोगिताबारे जानकारी दिँदै देशभर छरिएर रहेका माझी युवाहरुलाई समेट्ने गरी कार्यक्रम हुन लागेको बताए ।

सिमान्तकृत माझी समुदायका युवाहरु अन्य क्षेत्रमा जस्तै खेलमा पनि पछाडी रहेकाले उनीहरुको प्रतिभालाई उजागर गर्नका लागि प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको उहाले बताउनु भयो ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीस्थित खेल मैदानमा हुने प्रतियोगितामा करिब १२ देखि १६ टिमको सहभागी हुने अपेक्षा लिइएको खेलकूद संयोजक श्यामसुन्दर माझीले बताए । विशेष गरी माझी जातिको बसोबास रहेको क्षेत्रहरु प्रदेश १, २ र ३ तथा पश्चिमका जिल्लाहरुबाट समेत खेलाडी आउने बताएका छन् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीले ५/५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल र पहिचानका लागि खेल” भन्ने उद्देश्यका साथ प्रतियोगिता हुने माझी समुदायका अगुवा लक्ष्मी माझीले बताइन् । कार्यक्रमको आर्थिक संयोजक समेत रहेकी माझीले देशमै पहिलोपटक हुन लागेको प्रतियोगिता सबै क्षेत्रबाट सहयोग मिल्ने विश्वास लिइएको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*