६ भिभिआइपी जहाजसम्म सवारीसाधनमा जान पाउने
भदौ २७, काठमाडौं – सरकारले आन्तरिक विमानस्थलमा ६ जना भिभिआइपीलाई मात्र सवारीसाधन सहित जहाजसम्म जान पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार सूचना जारी गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ मा सार्वजनिक गरेको १ सय ४१ बुँदे कार्य योजना मध्ये आन्तरिक उडान तर्फ सम्माननीय भिभिआइपी (बिग सिक्स) लाई मात्र सवारीसाधनसहित विमान नजिक जान पाउने व्यवस्था उल्लेख छ ।
प्राधिकरणका अनुसार बिग सिक्स भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा सोही मर्यादाका विदेशी समकक्षीलाई समेत सुरक्षा खानतलासीबाट छुट हुने व्यवस्था गरिएको छ ।
भिभिआइपी बाहेकका हकमा सम्बद्ध वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारीसाधनबाटै जहाजसम्म जाने र आउने व्यवस्था मिलाइएको छ ।