दशैंका लागि ३ हजार खसी काठमाडौं ल्याउने

तामसालिङ खबर
२६ भाद्र २०७६, बिहीबार १८:०४

भदौ २६, बाँके – आउदै गरेको दशैंका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौं पठाइने भएका छन् । गत वर्षको दशैंमा एक हजार ५०० खसी काठमाडौं पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सघकी अध्यक्ष गङ्गा शाहले बताउनु भयो ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सघ मार्फत काठमाडौं पठाउन लागिएको हो । भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौँलगायत शहरमा माग बढ्दो छ । महिलाले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ ।

महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि ढकेरीमा एक पटकमा ५०० खसी बाख्रा राख्न मिल्ने नमूना केन्द्र निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए । यसलाई विस्तार गरी उक्त केन्द्रमा खसीको सङ्ख्यामा वृद्धि गर्दै व्यवसाय सञ्चालन गर्ने र आगामी दुई वर्षभित्रमा केन्द्रमा वार्षिक ३० हजार भन्दाबढी खसी सङ्कलन गरी बिक्री वितरण गर्ने योजना रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*