निगमको ओसाका उडानले पर्यटनमा उत्साह थपिने

तामसालिङ खबर
२३ भाद्र २०७६, सोमबार १८:४१

भदौ २३, काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्सले ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रबर्द्धनको लागि महत्वपूर्ण फड्को मार्ने लक्ष्य लिएको छ ।

निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक वाइड बडी ए–३३०–२०० जहाजमार्फत भदौ १२ गतेदेखि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा सिधा उडान शुरु गरेको छ । यसअघि अक्टोबर ३ सन् १९९४ मा निगमले ओसाका उडान शुरु गरेको थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष अभियानको सङ्घारमा निगमले जापान सिधा उडान गरेसँगै यसले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने देखिन्छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सोही अवधिमा जापानबाट मात्रै २९ हजार ८१७ पर्यटक नेपाल आए । सन् २०१७ मा २७ हजार ३२६ जापानी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जापान सिधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास लिएको निगमले वार्षिक ४० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलको भनाइ छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले निगमको जापान सिधा उडानले बढीभन्दा बढी जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै दूतावासले जापानको टोकियो, ओसाकालगायत शहरबाट जापानीलाई नेपाल गन्तव्य भ्रमणका लागि आकर्षित गर्ने प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

निगमले हाल साताको दुई दिन शनिबार र मङ्गलबार ओसाकाको नियमित उडान गरिरहेको छ । हाललाई निगमले प्रवद्र्धनात्मक भाडादर दुईतर्फी रु ७२ हजार ८०० र एकतर्फी रु ३७ हजार निर्धारण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*