अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट

तामसालिङ खबर
२२ भाद्र २०७६, आईतवार १७:२७

भदौ २२, एजेन्सी – संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ करवृद्धिका कारण अगस्ट महिनामा अमेरिकाबाट करिब १० अर्ब डलर बराबरको सामान मात्र आयात भएको छ ।

चिनियाँ भन्सारका अनुसार संयुक्तराज्य अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करवृद्धिलाई यथावत राखेका कारण गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएका छन् ।

संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिका कारण सन् २०२१को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् ।

अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ । गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए । सर्वेक्षणमा दुई प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए ।

करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै शुरु हुने बताएका छन् । अर्थशास्त्रीले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरुबाट भित्रिने सामानमा करवृद्धि गर्नुभएको छ । उहाँले चीन, युरोपेली मुलुक, मेक्सिको र क्यानाडाबाट आउने सामानमा कर बढाउनुभएको छ ।

विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीचको व्यापारमा नाटकीयरुपमा कमी आएको छ । सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन् ।

करिब पाँच प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन् जबकी ६४ प्रतिशतले सम्झौताको नाटक मात्र हुने बताएका छन् । करिब एक तिहाइले दुबै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*