हुवासिन सिमेन्ट उद्योग बाढीले बगायो

तामसालिङ खबर
३० असार २०७६, सोमबार ११:४३

धादिङ – धदिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको हुवासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।

ताल्ती स्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिन देखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसी जङ्ग थापाले बताउनु भयो ।

रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन् । दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् ।

खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली सो स्थानमा पुग्न सकेको छैन । ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको जनाएको छ । बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ ।

१५ अर्बको लगानीमा चिनियाँ हुवासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महिना भएको छ । नौ महिनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*