परीक्षा तोकिएकै कार्यतालिकामा हुन्छ – लोकसेवा आयोग
काठमाण्डौ – लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न विभिन्न पदका लागि गरिएको विज्ञापन अनुसार पूर्व निर्धारित समयमै सबै परीक्षाहरू हुने जनाएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाले पूर्वघोषित परीक्षा तालिका अनुसार नै परिक्षा सञ्चालन गर्ने आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले बताउनु भयो ।
मैनालीको अनुसार, हामी पहिले पनि प्रक्रियामै चलेका हौँ र अब पनि हामीले गर्ने त्यही हो, त्यसैले पूर्व निर्धारित कार्यतालिका अनुसार तोकिएकै समयमा परीक्षा सञ्चालन हुन्छ । आयोगले गत जेठ १५ गते ५ सय १५ वटा स्थानीय तहका लागि करिब ९ हजार पदको लागि विज्ञापन खुल्ला गरेको थियो । त्यसका लागि दरखास्त दिने अन्तिम म्याद हिजो मध्यराती १२ बजेसम्म रहेको थियो ।
बुधबार साँझसम्म ४ लाख ४० हजारले विभिन्न पदका लागि दरखास्त दिएका थिए । विज्ञापन संविधानको मर्मविपरित भएको भन्दै चर्को विरोध भएपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले त्यसलाई रद्द गर्न निर्देशन दिएको थियो ।