नवलपरासीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, १२ घाइते
नवलपरासी – नवलपरासीमा आज बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका – १६ कुमारवर्ती चोकमा लु २ ख १४९३ नम्बरको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
त्यस्तै, मध्यविन्दु नगरपालिका – ८ फूलबारीमा ना ७ ख ६८४१ नम्बरको बसलाई ना ७ ख ६३ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा सवार १२ घाइते भएका छन् । घाइते मध्ये सामान्य १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।
सुर्खेत घर भएका २५ वर्षीय योगेश भासरती र ३५ वर्षीय मणिराम बरकको अवस्था भने गम्भीर रहेको छ । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।