गैंडाको खागसहित तीन जना नियन्त्रणमा
काठमाडौं – गैंडाको खागसहित प्रहरीले तीन जनालाई बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले गोरखा चुमनुब्री गाउँपालिका ३ का लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका २ का अष्टबहादर थिङ्ग र धादिङ महादेववेसी थाक्रे गाउँपालिका ११ का गोविन्द मोक्तानलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ढल्कु स्थित लालबहादुरको कोठामा तलासी लिँदा खागसहित उनीहरुलाई पक्राउ गरिएको हो । ५५ लाख रुपैयाँमा बिक्री वितरण हुन लागिरहेको सूचनाका आधारमा प्रहरीले कोठामा तलासी लिएको थियो ।
लालबहादुरको कोठाबाट सेतो सिसाको पत्थरजस्तो देखिने चिज एक थान पनि बरामद भएको बोगटीले बताए । पक्राउ परेका तिनै जनालाई महानगरीय प्रहरी बृत्त लैनचौरमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।