हेटौंडा उपमहानगरको एक अर्ब ८१ करोड बजेट

तामसालिङ खबर
१० असार २०७६, मंगलवार १६:५४

हेटौंडा – तिन नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकको अवसरमा बजेट प्रस्तुत गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको बिभीन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइएको हो ।

त्यसैगरी संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । उपमहानगरपालिकाको गतबर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरिने उपप्रमुख लामाले बताइन् । बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ बिनियोजित गरिएको छ । कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ ।

उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताइन् । त्यसैगरी हेटौंडालाई सफा, हरियाली, फूलैफूलको सहर निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।

हेटौंडामा सडक फराकिलो बनाउने कामसंगै फूलै फूलको शहरका रुपमा विकास गर्नका लागि आफू लागि परेको बताउँदै हेटौडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले भने–‘हाम्रै परिकल्पनाबाट निर्माण शुरु भएको सहिद स्मारक अहिलेको अवस्थामा पुग्यो । हेटौंडा बजारमा हरियाली भयो अब भने फूलै फूलको शहरका रुपमा विकास गर्न चाहन्छौ ।’ पाँच बर्षको कार्यकालमा हेटौंडालाई नमूना शहरका रुपमा विकास गरिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*