तिन नम्बर प्रदेशको बजेटमा ठुला नारै नारा
हेटौंडा – तिन नम्बर प्रदेश सरकारले आईतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा नारै नारा प्रस्तुत रहेको छ । प्रदेशको पहिचान सहितको बजेट ल्याउन प्रदेश सरकारले नारा धेरै राखेको स्रोतले जनाएको छ । तर, नारा अनुसार कार्यान्वयनमा भने सफल हुन नसक्ने हो की भन्नेमा प्रदेश सांसदहरुले चिन्ता ब्यक्त गरेका छन् ।
आईतबार संसदमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रस्तुत गर्नुभएको बजेटमा बजेटको बिषय प्रबेश गर्दा नाराबाट सुरुवात गर्नुभयो । प्रदेश सरकारले घोषणा गरेको बजेटमा लोकप्रिय नाराहरु समेटिएका छन् ।
बजेट वक्तव्यमा परेका १५ वटा नाराहरु यस्ता छन् ।
निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन ।
प्रदेश ३ को ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा ।
प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार ।
प्रदेश र स्थानीय तहको एउटै सन्देश, वालविवाहमुक्त हाम्रो प्रदेश ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ।
एक स्थानीय तह, एक विशेष उत्पादन ।
वातावरण संरक्षणमा हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा ।
पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार ।
एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम ।
एक घर, एक धारा ।
प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान ।
वित्तीय साक्षरताको आधार, बैंकिङ प्रणालीमार्फत सबै कारोबार ।
प्रदेश सरकारको भावना, जिम्मेवार नागरिकको कामना ।
एक नेपाली एक फलफूल विरुवा रोपण ।
एक समूह, एक वन उद्यम कार्यक्रम ।
प्रदेश नम्बर ३ सरकारले आउँदो आर्थिक बर्ष २०७६–०७७ का लागि आज संसदमा ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्यमा ५१ द्यशमलब ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड रुपैयाँ चालु खर्च रहेको छ ।
त्यसैगरी पुँजीगत खर्च तर्फभने ४७ दशमलब ९८ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । बित्तीय ब्यबस्थापनमा ३० करोड रुपैयाँ छुट्याइएको छ ।