राति नै पुग्छन, खानेपानी लिन मकवानपुर राक्सिराङका बासिन्दा
हेटौडा — बिहान ३ बजे उठेर उनी आँखा मिच्दै गाग्रो बोकेर पानी लिन खोल्सीमा जान्छिन् । त्यतिबेला उठेर जाँदा उनीभन्दा अघि नै पानी लिन खोल्सीमा अरू पनि पुगिसकेका हुन्छन् । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका—८ महांकालकी दुधीमाया चेपाङ ससाना छोराछोरीलाई ओछ्यानमै छाडेर बिहान सबेरै पानी लिन जाने गरेकी छन् । अबेर गयो भने पानी नै सुकिसकेको हुन्छ । एक गाग्री पानी जम्मा हुन कुवामा भन्डै आधा घन्टाभन्दा बढी समय लाग्छ ।
‘रातभरि जम्मा भएको पानी उभाएर ल्याउनका लागि राति नै महिला र पुरुष दुवै गाग्री बोकेर पानी लिन जाने गर्छन्,’ स्थानीयवासी जयबहादुर तितुङले भने, ‘यहाँ त पानीकै समस्या छ ।’ खोल्सीमा रहेको कुवाको पानी ३०, ४० गाग्री पानी उभाएपछि सुकिहाल्छ । ‘कुवामा पानी सुकेपछि विस्तार जम्मा हुँदै आउँछ, त्यही पानी भरेर ल्याउने गरेका छौं,’ दुधीमायाले भनिन्, ‘गाउँमा पानीको समस्या छ ।’ महांकालको खोल्सीमा सानो एउटा कुवा छ, त्यही कुवाको पानीले महाकांल र टोड्केका बासिन्दाले तिर्खा मेट्ने गरेका छन् । वर्षायाममा बलेसीको पानी थापेर खाने गरेका छन् ।
‘वर्षायाम सुरु भएपछि कुवाको पानी लिन जाँदैनौं,’ टोड्केकी सानीमाया थिङले भनिन्, ‘छानाबाट झरेको पानी थाप्छौं ।’ थिङको घरको छानामा जस्तापाता लगाएको छ । उक्त गाउँका अधिकांश घर खरले छाएको छ । त्यही छानाबाट झरेको बलेसीको पानी उनीहरूले प्रयोग गर्छन् ।
टोड्के र महांकालका बासिन्दा एक गाग्री पानी ल्याउन २ घन्टा हिंड्नपर्छ । ‘घरायसी काममा पानी फारो गरेर खर्चिंदा पनि २ गाग्री लाग्छ । स्थानीयवासी तितुङले भने, ‘पानी अभावले गर्दा गर्मीयाममा ‘ड्यु’ खाएर पनि तिर्खा मेट्ने गरेका छौं ।’ गाउँमा आयोजना गरिएका सार्वजनिक कार्यक्रममा पानी छैन, बरु ड्यु पिउनोस् भन्ने गरेका छन् । उक्त बस्तीमा चिसो पेय पदार्थमा ड्यु मात्र पाइन्छ । टोड्के र महाकांलस्थित बस्तीको जमिनको भाग समथर छ तर पानीको हाहाकार छ । ‘महांकाल र टोड्केमा सानो बजेटले पानी ल्याउन सकिंदैन,’ वडाध्यक्ष रामकृष्ण चेपाङले भने, ‘वडा र गाउँपालिकाको बजेटले पनि पानी ल्याउन कठिनाइ छ ।’
पानीको मुहान टाढा छ । ‘संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरिदिएमा पानीको समस्या हल हुने थियो,’ वडाध्यक्ष चेपाङले भने । राक्सिराङ गाउँपालिकाभरिमा पानीको अति समस्या भएको टोड्के र महांकालको बस्ती हो । चेपाङ र तामाङ समुदायको बसोबास रहेका यी दुई बस्तीमा झन्डै ७५ घरधुरी छन् ।
चर्पी पनि सिजनल’
उक्त बस्तीका अधिकांश घरमा चर्पी बनाएको छ । यी चर्पी पनि ‘सिजनल’ छन् । सुक्खायाममा पानीको अभावले गर्दा प्रयोगमा आउँदैनन्, वर्षायाममा भने प्रयोगमा आउने गरेका छन् । ‘पानी अभावले गर्दा सुक्खायाममा चर्पी पनि प्रयोगमा आउँदैन,’ स्थानीयवासी धर्म वाइबाले भने, ‘बस्ती समथर भएर के गर्ने पानीकै समस्या छ ।’
पानी अभावले गर्दा यस क्षेत्रका बासिन्दाले पशुपालन पनि गर्न सकेका छैनन् भने अर्कातिर करेसाबारीमा समेत तरकारी लगाएका छैनन् । चितवन भण्डाराको चेपाङ मार्ग हुँदै थाकलटारबाट सिलिङे सिलाधुनी भएर महांकाल र टोड्केसम्म मोटरबाटो भर्खरै पुगेको छ । प्रदेश—३ को सरकारले उक्त गाउँमा पुग्न कृषि सडक बनाएको छ । अहिले जोखिम मोलेर साना सवारीसाधन टोड्केसम्म पुग्न थालेका छन् । आजको कान्तिपुर दैनिकमा प्रताप बिष्टले लेखेको छ ।