नेपालको ट्यांकर भारतले नाकामा राेक्याे
झापा – भारतमा नरेन्द्र मोदीले दोस्रोपटक प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहँदा भारतीय पक्षले नेपालको पूर्वी नाकामा नाकाबन्दीकै झल्काे दिनेगरी इन्धन आयातमा अवरोध गरेको छ ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका करिब ७३ ट्याङ्करलाई भारतको पश्चिम बङ्गालस्थित पानीट्याङ्की भन्सारमा ४ दिनदेखि रोकेर राखिएको छ । ट्यांकर नेपाल भित्रन नपाएपछि पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ ।
भारतले भन्सारमा ‘अनलाइन इन्ट्री सिस्टम’ सुरु गरेको भन्दै शुक्रबारदेखि ठूलो मात्रा नेपालका लागि लोड भई आएका ट्यांकर रोकेको नेपाल आयल निगम चारआली कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार अनलाइन सिस्टममै समस्या आएकाले भन्सार इन्ट्री नपाएर नाकामै ट्यांकर रोकिएका हुन् ।
नाकामा मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर रोकिएको बताइएको छ । ४ दिनदेखि ट्यांकर भित्रिन नपाएपछि पूृर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ लगायत जिल्लामा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ ।
पेट्रोल तथा डिजल नभएर यहाँका अधिकांश पम्पहरु बन्द भएका छन् । मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गर्छ ।
समस्या समाधानका लागि भारतीय पक्षसँग आग्रह गरिएको निगमको चारआली कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले अनलाइनमा समस्या भए म्यानुअल सिस्टमबाट भए पनि भन्सार इन्ट्री दिन अनुराेध गरेकाे बताए ।