युट्युब ट्रेण्डिङमा ‘दुई रुपैयाँ’ र ‘नेला टिकेट’ को टक्कर

तामसालिङ खबर
१३ जेष्ठ २०७६, सोमबार ०५:३८

हेटौँडा । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ र दक्षिण भारतीय हिन्दी डब्ड चलचित्र ‘नेला टिकेट’ को यतिखेर नेपाली युट्युब सर्भरमा ट्रेण्डिङ भिडन्त जारी छ । करिब एक हप्तादेखि नेपाली युट्युब सर्भरमा नम्बर एक ट्रेण्डिङको स्थान कब्जा जमाउन सफल नेला टिकेटलाई जित्नका लागि यतिखेर नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ युट्युब ट्रेण्डिङको दोस्रो स्थानमा आईपुग्न सफल भएको छ ।

मे २४ तारिखमा रिलिज गरिएको ‘दुई रुपैयाँ’ युट्युब रिलिज भएको दुई दिनमै युट्युब ट्रेण्डिङको दोस्रो स्थानमा आएको हो । त्यस्तै मे १८ तारिखमा युट्युब रिलिज भएको नेला टिकेट भने रिलिज भएको केही दिनदेखि नेपाली युट्युब सर्भरमा पहिलो नम्बरमा छ । यो सामाग्री तयार पार्दाको समयमा दुई रुपैयाँलाई १८ लाख ५३ हजारभन्दा बढी पटक हेरिएको छ भने चलचित्रमा २७ हजार लाईक र २ हजार १ सय डिसलाईकहरु गरिएका छन् । चलचित्रम दुई हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । त्यस्तै नेला टिकेटलाई यो सामाग्री तयार पार्दाको समयमा ४ करोड ६७ लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ३ लाख ८२ हजार लाईक र ४५ हजार डिसलाईकहरु गरिएका छन् । चलचित्रमा १३ हजार दुई सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

गोल्डमाईन्स् टेलिफिल्म्स युट्युब च्यानलबाट अपलोड गरिएको नेला टिकेटलाई मनिश शाहले निर्माण गरेका हुन् । चलचित्रमा चर्चित नायक रवि तेजा, माल्भिका शर्मा, जगपति बाबु, सम्पथ राज, सरथ बाबु, ब्रम्हनम्दम, अलि, पोषणी कृष्ण मुराली, रघु बाबु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
कल्याण कृष्ण कुराशालाको निर्देशन तथा शक्तिकान्त कार्तिकको संगीतमा तयार भएको चलचित्रमा द्वन्द र प्रेम भरपुर छ । एक मुख्य मन्त्रीको छोरालाई सानैमा हत्या गरेर आफै मन्त्री बन्ने खतरनाक भिलेन र बाल आश्रममा पालिएका नायकबिचको बेजोड द्वन्द चलचित्रमा समावेश छ ।

थिएटर रिलिजका क्रममा समेत चर्चा पाउन सफल नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ दुई साथीहरुको वरिपरि घुमेको कथा हो जहाँ बिगार्ने र भत्काउने सबै खेल ‘दुई रुपैयाँ’ को नोटमा लेखेको सिक्रेट कुराले खेल्छ । चलचित्रमा चर्चित निर्देशक तथा कलाकार निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान, मेनुका प्रधान, प्रतिकराज न्यौपाने, टिका पहाडी, विशारत बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । जी ट्वेन्टी वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सको प्रस्तुति रहेको चलचित्रलाई हाईलाईट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

असिम शाहको निर्देशनमा बनेको चलचित्रलाई आसिफ शाह र आशिष रेग्मीले लेखेका हुन् । त्यस्तै असिम शाह र विजय अधिकारीले समेत लेखनमा सघाएका छन् । तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता आसिफ शाह र निश्चल बस्नेत स्वयम हुन् । त्यस्तै शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको चलचित्रका सह निर्माता ओम गुरुङ हुन् । राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको चलचित्रका गीतहरु राजन ईशानले एरेञ्ज गरेका हुन् । चलचित्रको कुटुमा कुटु बोलको गीत सर्वाधिक रुचाइएको र युट्युबमा सर्वाधिक भ्यूज समेत भएको गीत हो । चलचित्रका गीतहरुमा राजनराज शिवाकोटी, सुरजसिंह ठकुरी र एकतारेको शब्दहरु समावेश छन् ।

राजकुमार उप्रेतीको द्वन्द रहेको चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको चलचित्रको ट्रेलर निमेश श्रेष्ठले तयार पारेका हुन् । पब्लीसिटी क्रियटिभका रुपमा विधान राजभण्डारीले कार्यभार सम्हालेको चलचित्रमा राजेश शाहले भिएफएक्स निर्माण गरेका छन् । गगन श्रेष्ठ प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा उत्तम न्यौपानेले साउण्ड डिजाईन र मिक्सिङ गरेका छन् । चलचित्रमा लाईन प्रोडुसर फिरोज खड्का र फोटोग्राफी विकास खतिवडाले सम्हालेका छन् । चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र स्टेसन फाईभ, उपत्यकाबाहिर एफडी कम्पनी र अन्तराष्ट्रिय स्तरमा हाईलाईट्स् नेपालले वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*