एक नम्बर प्रदेशले ४६ अर्बको बजेट ल्याउने तयारी
विराटनगर – आगामी आर्थिक वर्ष ०७६/७७ का लागि एक नम्बर प्रदेश सरकारले ४६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको भन्दा २५ प्रतिशतले वृद्धि गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले जानकारी दिए ।
‘बजेटको अंक भन्न मिल्दैन, एक मन्त्रालयदेखि अर्को मन्त्रालयलाई पनि बजेटको अंकको बारेमा जानकारी हुँदैन,’ मन्त्री आङ्म्बोले भने, ‘चालु आर्थिक वर्षको बजेटको आकारमा कम्तिमा पनि २५ प्रतिश बजेटको आकार बढनेछ, करिब बजेटको आकार ४५/४६ अर्ब भित्र समेटिनेछ ।’
मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटको सबै भन्दा ठूलो अंश ४५ प्रतिशत भौतिक पूर्वाधारलाई समेटिएको छ । बजेटमा कृषिको आधुनिकीकरणलाई पनि महत्व दिएको छ । चालु आर्थिक वर्षको बजेटमा पनि ४५ प्रतिशत बजेटको हिस्सा पूर्वाधारमै छुट्याइएको थियो ।
प्रादेशिक योजना आयोगले भने आगामी आर्थिक वर्षको बजेट ५५ अर्बको हाराहारीमा ल्याउन मन्त्रालयलाई सिफारिस गरेको छ । मन्त्री आङम्बोले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको नीतिगत पक्षमा छलफल भइरहेको जानकारी दिए ।
उनले संसद्को चौथो अधिबेशन १३ जेठमा बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरी बजेटमाथिको छलफल अगाडि बढाइने जानकारी दिए ।