उपत्यकाबाट साना सार्वजनिक सवारी हटाइने
काठमाडौं – काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्रफिक प्रहरी महाशाखाले उपत्यकका चक्रपथ र ठूला सवारी गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ । टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो ।
ट्राफिक प्रहरीले एक वर्षभित्र यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा यस्ता सवारी हटाउने खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
सानो इन्जिन क्षमताका गाडी सुस्त गतिमा गुड्ने र अन्य सवारीको आगमनमा असर पुर्याउने भएकाले तीन पांग्रे र साना सवारी हटाउने तयारी गरिएको ट्राफिक प्रहरीका प्रवक्ता बसन्त पन्तले बताए ।
तीनपांग्रे तथा साना सवारी विस्थापित गर्न सकिएको खण्डमा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । यस्ता सवारी हटाउन ट्राफिकले यातायात व्यवस्था विभाग, महानगरपालिका र नगरपालिका प्रतिनिधसँग छलफल गरिरहेको छ । साना सवारी हटाउन सम्बन्धित निकायका अधिकारी पनि सकारात्मक भएको उनी बताउँछन् ।
हाल उपत्यकामा ६ हजार तीन सय ३० वटा टेम्पो र माइक्रोबस सञ्चालनमा छन् । यातायात व्यवस्था विभागका प्रमुख कुमारप्रसाद दाहाल उपत्यकाको ट्राफिक व्यवस्थापन साना सवारी हटाउनुपर्ने बताउँछन् ।