बजेटअघि नै गोलभेडाको दोब्बर मूल्य, खसीको मासुमा २०० बढ्यो
काठमाडौं – अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको भाउ आकासिएको छ । महिना दिन अघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा कालिमाटी बजारमा शनिबार एक सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यही गोलभेडाको दाम काठमाडौंका साना बजार र किराना पसलमा एक सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्छ । त्यस्तै, स्थानीय काउली कालिमाटी बजारमै ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
एक महिनाअघि यसको मूल्य ५५ रुपैयाँ थियो । भेन्टा, मटरकोसा, हरियो फर्सी, साग, निउरो, ब्रोकाउली, धनियाँलगायतका ताजा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ ।
त्यस्तै, खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको छ । तर, एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ ।
यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।