आज २५६३ औ बुद्ध जयन्ती, विश्वभर बिबिध कार्यक्रम गरि मनाइदै
काठमाडौं – शान्तिको अग्रदुत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ती आज बिबिध कार्यक्रम गरी विश्वभर मनाइँदै छ । नेपालको लुम्बिनीमा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।
गौतम बुद्धको जन्म , बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध ।
महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार शृजना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्यूझाउन सहयोग गरे । जसरी कुनै सामान या मेशिन किन्दा त्यसको प्रयोग गर्ने तरिकाहरु सहितको यसो गर्नु या नगर्नु भन्ने तथ्य सहितको प्रयोग पुस्तीका पाइन्छ त्यस्तै जीवन अनि जगत सम्बन्धी सहज अनि सफलताको प्रयोग पुस्तीका बुद्धले दिएर गएका छन् ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।
वैशाख शुक्ल पूर्णिमामा काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, नमोबुद्ध लगायत स्थानमा यो दिन विभिन्न कार्यक्रम आयोजना गरि पुजापाठ गर्ने गरिन्छ । नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतको देशहरुमा बिबिध कार्यक्रम गरि मनाउदै आएको छ ।
लुम्बिनी भ्रमण बर्ष
२५६३ औ बुद्ध जयन्तिको अबसरमा बुद्धको जन्म थलो ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मुल नाराका साथ हुने लुम्बिनी भ्रमण वर्ष आजै बुद्ध जयन्तिको दिन बिशेष समारोहको बीच औपचारिक शुभारम्भ हुने बताएको छ ।
नेपाल सरकारले २०२० मा भिजिट नेपालको बर्षका रुपमा सफल बनाउनको लागि लुम्बिनी भ्रमण बर्षले धार्मिक पर्यटकीय, सास्कृतिक पुरातात्विक संगै ऐतिहासिक महत्वका स्थानहरुहरुको पहिचान गरि संरक्षण र सम्बर्द्धन गर्ने उद्येश्यले बुद्धको जन्म जयन्ति जेष्ठ ४ गतेको दिन औपचारिक रुपमा लुम्बिनी भ्रमण शुभारम्भ हुने प्रचारप्रसार समितिको संयोजक भरत केसीले बताए ।
३ करोड ६० लाखको बजेटमा सुरु गरिएको भ्रमण बर्षको अभियान आज जेष्ठ ४ गते देखि २०७७ सालको चैत्र पूर्णिमा सम्मको अवधीलाई भ्रमण वर्षको रुपमा मनाइने संयोजक केसीले बताए ।