युएईमा २५६३ औ बुद्ध जयन्ती मनाइने
युएई – नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत ११ वटा जातीय संघसंस्थाहरुको संयुक्त आयोजनामा २५६३ औं बुद्धजयन्ती मनाउने तयारी गरेको छ ।
महासंघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले महासचिव सनिल घिसिङको संयोजकत्वमा कार्यक्रमका लागि समिति गठन गरेको छ । यहि आउँदो जुन १४ तारिखको दिन युएईको देरा दुबई स्थित कार्ल्टन टावर होटलको हलमा हुन लागेको कार्यक्रम औपचारिक रुपमा लामागुरुबाट पुजापाठ, बुद्ध दर्शनबारे प्रवचन, वृत्तचित्रहरु प्रस्तुत गर्नुको साथै नेपाल आदिबासी जनजाति कलाकार महासंघ युएईका कलाकारहरु र विभिन्न जातीय संघसंस्थाहरुले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् ।
ई.पु. ५६३ वैशाख पुर्णिामामा शाक्य साम्राज्यको महाराज शुद्धोधन र महारानी मायादेवीको कोखबाट लुम्बिनीमा सालको वृक्षमुनि जन्मेका महामानव गौतम बुद्धलाई भारतमा जन्मेको भनि विश्वसामु फैलाएको गलत प्रचारप्रसारलाई प्रवासमा पनि यसरी बुद्ध जयन्ती धुमधामसँग मनाउँदै अन्तर्राष्ट्रियस्तरमा समेत केही हदसम्म भ्रम चिर्ने आयोजको दाबी रहेको छ ।
महासंघ लगायत ११ वटा जातीय संघसंस्थाहरु तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनवार सेवा समाज, नेवा पुच:, थारु कल्याणकारी समाज रहेका छन् ।