बैशाख २५ गतेदेखि काँग्रेसको राष्ट्रिय जागरण अभियान

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार ०८:४३

हेटौँडा – नेपाली काँग्रेसले बैशाख २५ गते बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । नेपाली काँग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन हुने औंपचारिक जानकारी गराएको हो ।

बैशाख ११ गतेबाट सुरु हुने भनिएको सो जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित गरिएको थियो । सोही जागरण अभियान बुधबारबाट सुरु गर्न लागिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

जागरण अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम एक महिनाको हुनेछ । बैशाख २५ गतेबाट जेठ २५ गतेसम्म संचालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा संचालन गरिनेछ । त्यसका लागि पार्टीका केन्द्रिय सदस्यहरु जिल्लामा पुग्ने काम सूरु भईसकेको पनि प्रवक्ता शर्माले जानकारी दिए ।

त्यसैगरी काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तिको अवसर पारेर शुभारम्भ हुनेछ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा संचालन हुने पनि प्रवक्ता शर्माले बताए ।

हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत संचाचलन हुने सो राष्ट्रिय जागरण अभियान अन्तरगतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सूरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने काँग्रेसले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*