नेपाली र्याफटिङ टोली च्याम्पियनसिपमा भाग लिन अस्ट्रेलिया जाँदै
काठमाडौं : नेपाली र्याफटिङ टोलि अस्ट्रेलियामा हुने वर्ल्ड र्याफटिङ च्याम्पियनसिपमा सहभागी हुन अस्ट्रेलियाको क्विन्सल्यान्ड जाँदैछ । टोलीमा ७ खेलाडी सहित ८ सदस्यीय नेपाली टोली मंगलबार जाने भएको हो ।
पदक जित्ने लक्ष्य सहित मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट शक्ति कुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने कप्तान समेत रहेका प्रशिक्षक सुरज गुरुङले बताए ।
टिममा २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । नेपालले मे १६ तारिखमा स्प्रिन्ट, मे १७ मा हेड टु हेड, मे १८ मा स्लालम र मे १९ मा डाउन रिभर रेसमा सहभागिता जनाउने छ।
नेपालले विश्व च्याम्पियनसिपमा दोश्रो पटक सहभागिता जनाउन लागेको हो । २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।
टोलीलाई सोमवार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले शुभकामना दिई बिदाई गरे । प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने छ । नेपालले च्याम्पियनसिपको लागि २ महिना प्रशिक्षण गरेको छ ।