छ वर्ष भयो, हेटौडाकी विन्दवासिनीले आँखा नचिम्लेको
हेटौँडा – सानै उमेरमा चोट, हण्डर र ठक्करको सामना गर्न पुगेकी विन्दवासिनी कंसाकारलाई मास्क, स्कार्फ, चश्मा अनि, क्याप लगाएर हेटाैंडाको सडकमा हिँड्दा धेरैले दोहोर्याएर वा तेहेर्याएर हेर्ने गर्छन्। कतिपयले दयाभाव देखाउँछन्, चुकचुकाउँछन् र सहानुभूति पनि दिन्छन् तर, विन्दवासिनीलाई न त दयाभाव चाहिएको छ, न सहानुभूति।
आत्मविश्वाससहित लक्ष्य प्राप्तिका लागि यात्रारत विन्दवासिनीलाई चाहिएको छ त केवल ‘न्याय’। एक भारतीय नागरिकको विवाहको प्रस्ताव अस्वीकार गर्दा ६ वर्ष अघि तेजाब आक्रमणमा परी शारीरिक एवं मानसिक चोटले गम्भीर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाइँ लडिरहेकी छन्।
“फूपुको छोराको मिल्ने साथीको रुपमा परिचय भएको भारतीय नागरिक राज केशरीसँग विन्दवासिनीको पहिलो भेट उही फूपुको छोरोकै विवाहमा भएको थियो। त्यसपछि कहिलेकाहीँ फाट्टफुट्ट भेट भइरहने केशरी फूपुको घरमा बरोबर आइरहन्थ्यो। महिला त्यसमा पनि केटीहरुसँग अलि बढी नै नजिकिन खोज्ने केशरी त्यसपछि भने हेटाैंडाको मेनरोडमा अवस्थित विन्दवासिनीको पसलमा पनि आउन थाल्यो।
कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाल्यो। अनावश्यक फोन कलहरु गर्न थाल्यो। फोनबाटै प्रेम प्रस्ताव राख्न भ्याएको केशरीले एक दिन त विन्दवासिनीलाई विवाहको प्रस्ताव समेत राख्यो। आफूसँग विवाह गरे रानी बनाएर राख्ने आश्वासन दिने केशरीलाई विन्दवासिनीले विवाह गर्न नसक्ने जवाफ दिइन् र सम्झाउने प्रयास गरिन्।
केशरीले भने त्यही रुपमा प्रस्तुत भइरह्यो। केशरीले दैनिकी नै असर पार्ने गरी पटक पटक भेट्ने र विवाहको प्रस्ताव स्वीकार्न बाध्य पार्न थालेपछि विन्दवासिनीले सबै कुरा आफ्नो परिवारमा राखिन्। भोलि पल्ट बिहानै पसलमा बसिरहेकी विन्दवासिनीलाई भेट्न आएका केशरीलाई बुबा मधुसूदनले राम्रैसँग सम्झाए। त्यतिखेर सबै कुरा सम्झे झैं गरेर पसलबाट बाहिरिएको केशरी उसको मिल्ने साथी अर्थात् विन्दवासिनीको फूपुको छोरासँग मेलामा स्टल राख्न चितवन गयो।
विसं २०७० वैशाख ९ गते घरमा रमाइलो थियो। आमाबुबाको विवाह बन्धनमा बाँधिएको दिन भब्यसँग मनाउने तयारी हुँदै थियो। विन्दवासिनी पसलमा बसिरहेकी थिइन्। एकाएक पसल अगाडि केशरी देखापर्यो। विन्दवासिनीले नदेखेझै गरिन्। हातमा महको बट्टा बोकेको केशरी हँसिलो अनुहार पारेर फेरि कतै हरायो। एक्कै छिन पछि फेरि हातमा त्यही महको बट्टा बोकेर पसलको टेबलमै आयो।
“यो मह घरमा देउ ल ?” यति भनेर उसले बिर्को खोल्यो। के गर्ने ? कसो गर्ने ? असमञ्जस्यमा परेकी विन्दवासिनीले केही सोच्नै नपाइकन त्यो मह भनिएको वस्तु अनुहारतिर छ्यापेर केशरी त्यहाँबाट भाग्यो। आफूतर्फ छ्यापिएको वस्तुलाई मह नै सम्झेकी विन्दवासिनी भत्भती पोल्न थालेपछि चिच्याउन थालिन्। विन्दवासिनीको चिच्चाहट सुनेर बुबा, आमा, दाइ आत्तिदै आए। छोरीको अनुहारमा कसैले तेजाब खन्याइदिएको थाहा पाएका बाबुले रुँदै कराउँदै पानी खन्याउन थाले।
अत्तालिएका मधुसूदनले छोरीको जिउमा ट्यांकी रितिउञ्जेलसम्म पानी खन्याए । कक्षा १२ मा अध्ययनरत १९ वर्षाीया विन्दवासिनीको त्यस दिनदेखिको तीन वर्ष नेपाल तथा भारतका विभिन्न अस्पतालहरुमा बित्यो भने आजसम्म पनि उपचार जारी नै छ। उपचारमा झण्डै साठी लाख रुपैयाँ खर्च भइसक्यो । सुन्दर भविष्यको कल्पना सहित सफलता तर्फ दौडिरहेको दैनिकी एकाएक रोदन र छटपटाहटमा परिणत भयो।
दाइको साथीको रुपमा परिचय भएर आएको व्यक्ति नै आफ्नो जीवनको सबैभन्दा ठूलो पीडाको कारक बनेपछि विगतदेखि नै न्याय माग्दै आएकी कंसाकारले आँखा चिम्लेर ननिदाएको ६ वर्ष भयो। केशरीले तेजाब खन्याएर बेपत्ता भएपछि पाँच वटा नारी दिवशहरु मनाइए, महिला हिंसा विरुद्धका थुप्रै अभियान र कार्यक्रमहरु भए। तर, यो अवधिमा न त केशरी पक्राउ परे न त विन्दवासिनीले न्याय प्राप्त गर्ने आधार तय भयो।
विन्दवासिनीका अनुसार तेजाबले अनुहार, छाती र शरीरका कतिपय अङ्गहरु जलाएपछि उपचारमा लाखौं खर्च भयो, धेरै हदसम्म निको पनि भयो तर, तेजाबले खाएर च्यातिएको आँखाको डिल नजोडिँदा आँखा चिम्लिन वा झिम्क्याउन मिल्दैन। विन्दवासिनीले भनिन्– “त्यो मात्रै होइन । तेजाबले दिएको पीडा त, कति छ कति ? त्यो भन्दा ठूलो पीडा त अहिलेसम्म दोषी पत्ता लागेर पनि पक्राउ नपर्नु हो।”
जति पटक प्रहरी कार्यालयमा जाँदा पनि भारतमा भएर पक्राउ गर्न नमिलेको जवाफले आफू दिक्क भएको उनको गुनासो छ। प्रहरी सन्धि सम्झौताका कारण पक्राउ गर्न मिल्दैन भन्छन्। “अपराधीलाई समेत पक्राउ गर्न नमिल्ने कस्तो खालको सम्झौता हो ?,” उनले प्रश्न गरिन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह भने केशरीलाई पक्राउ गर्न प्रहरी प्रयासरत रहेको बताउँछन्। भारतीय प्रहरीसँग समन्वय भइरहेको छ। इन्टरपोल मार्फत रेडकर्नर नोटिस समेत जारी भएको छ। भारतीय प्रहरीले उसको खोजी शुरु गरेको छ । विगतमा भारतीय नागरिक र उसकै देशमा लुकिरहेका कारण केही समस्या भए पनि अब चाँडै नै हामी उसलाई पक्रन सफल हुन्छौं,” उनले भने।
सफल व्यवसायी र समाजसेवी बन्ने लक्ष्य लिएकी विन्दवासिनीको तेजाबले खाएको ठाउँमा दैनिक लगाउनुपर्ने क्रिम तथा आँखामा लगाउने ड्रप लगायतका औषधिको मासिक खर्च २० हजार रुपैयाँ जति छ। वाणिज्यमा स्नातक गरेकी विन्दवासिनीलाई सरकारले न्यायसँगै तेजाब पीडितहरुका लागि समाजमा स्थापित हुन अन्य सहयोग गरोस् भन्ने लागेको छ।
अहिलेसम्म सरकारका तर्फबाट कुनै सहयोग नपाएकी विन्दवासिनी देशमा न्याय मरेको छैन भन्ने प्रमाणित गर्न सबै भन्दा पहिले दोषीलाई पक्राउ गरोस् भन्ने चाहन्छिन्। तेजाब आक्रमण गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्ने माग राख्ने उनी तेजाबको सहज बिक्री वितरणलाई नियन्त्रण गर्नुपर्ने बताउँछिन्।
आक्रमणका आरोपित केशरी भारत विहार घर भई हेटाैंडामा व्यापार गरेर बस्थे । केशरीसँग केही समय सङ्गत गरेकी एक महिलाको भनाइअनुसार आफूलाई नेपाली चलचित्रको कलाकारसमेत बताउने केशरी चतुर र विपरीत लिङ्गीको सवालमा अलि बढी नै लहसिने स्वभावका थिए। नाम नबताउने शर्तमा उनले भनिन्– “ऊ आफूलाई निक्कै स्मार्ट देखाउन खोज्थे। कुनै न कुनै निहुँ बनाएर केटीहरुसँग नजिकिन खोज्ने बानी भएको मान्छे थियो ऊ। ठूलै अपराधी पो रहेछ !” रासस