राक्सिराङको चेपाङ वस्तीमा विद्यार्थी भर्ना अभियान
हेटौँडा (राक्सिराङ) – मकवानपुरको बिकट क्षेत्र राक्सिराङ गाउँपालिका वडा नम्बर ७ मा रहेको धिराङमा शनिबार विद्यार्थी भर्ना अभियान सम्पन्न गरेको छ । धिराङ आधारभूत विद्यालयको आयोजनामा धिराङमा र्याली घरैदैलो र कोण सभाको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य सन्तबहादुर प्रजाले विद्यालय पहुँच बाहिर रहेका चेपाङ बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले बाटो र छात्रावासको समस्याका कारण चेपाङ बालबालिका अझै पढ्नबाट वञ्चित रहेको बताउँदै विद्यालयमा पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
भर्ना अभियान कार्यक्रममा नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङ, विद्यालयका प्रधानाध्यापक बाबुलाल घलान र गैरसरकारी संस्था दिगो विकास नेपालका परियोजना व्यवस्थापक अनिल पौडेल लगायतको व्यक्तित्वहरु सहभागी रहेको थियो ।
छ जना शिक्षक रहेको विद्यालयमा १६६ चेपाङ बालबालिका अध्ययनरत छन् । राक्सिराङ गाउँपालिकाले केन्द्र स्तरमा चारवटा विद्यालय भर्ना अभियान सम्पन्न गरी विद्यालय स्तरमा भर्ना अभियान सुरु गरेको छ ।