आज आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै
हेटौडा – वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ ।
प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।
दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।