गाजा र लागुऔषध सहित यादब र महर्जन पक्राउ
हेटौडा – मकवानपुर प्रहरीले ३१ किलो गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारतको बिहार मुजफ्फरपुर सदातपुर बस्ने वर्ष २६ को राजकुमार यादवलाई गाँजा सहित नियन्त्रणमा लिएको हो । उनी सवार बिआर २९७५६५ नम्बरको सुमो पनि नियन्त्रणमा लिइएको छ । उनलाई हेटौँडा १५ रातोमाटे स्थित सडक खण्डबाट नियन्त्रणमा लिइएको हो ।
बिहीबार राति करिब २ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहको कमाण्डमा खटिएको गस्ती टोलीले रातोमाटेमा शंकास्पद रुपमा पार्किङ गरेर सुमो रोकेर राखेको देखेपछि सुमोको जाँच गरिएको थियो ।
यादव सवार रहेको उक्त सुमोको पछाडीको नम्बर प्लेट राख्ने भागमा फल्स बटम बनाई ४ वटा पोकामा लुकाएर राखेको जम्मा ३१ किलो लागु औषध गाँजा फेला परेको थियो ।
उनले अपराध गरेको ठहरेमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र सुमो समेत जफत हुने प्रहरीले जनाएको छ ।
त्यस्तै, हेटौँडामा रहेको सुमो काउन्टरबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको सूचनाका अनुसार बैशाख १९ गते बिहान करिब साढे ९ बजे चौकीटोलको सुमो काउन्टरबाट ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३७ को संजय महर्जनलाई लागु औषध डाईजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुलसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलीले सुमो काउन्टरमा शंकास्पद रुपमा हिंडिरहेका महर्जनलाई शंकाको आधारमा उनको शरिर खानतलासी गर्दा उनको साथबाट उक्त लागुऔँषधहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको र उनीमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उनले अपराध गरेको ठहर भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना पर्नसक्ने प्रहरीले जनाएको छ ।