लालपुर्जा नभएका भुकम्प पीडितले घर निर्माण गर्न पाइने
हेटौंडा – लालपुर्जा नभएकै कारण पुनर्निर्माणको लागि पछि परेका मकवानपुरको भुकम्प पिडितको लागि पुनर्निर्माणको बाटो खुलेको छ ।मकवानपुरका ६ सय ३२ घर परिवारलाई अब पहिले आफुले उपभोग गर्दै आएको जग्गामा घर निर्माण गर्न पाइने भएको छ ।
भुकम्प पीडित लाभग्राहिका लागि भूमिका ब्यबस्थापन गर्न बनेको जिल्ला समन्वय समिति मकवानपुरको बैठकले घरबार बिहीन भएका मकवानपुरका ६ सय भन्दा बढी परिवालाई घर निर्माण गर्ने बाटो खुलाएको छ । प्रतिनिधिसभाका सांसद बिरोध खतिवडाको अध्यक्षतामा बुधबार बसेको बैठकले निर्णय गरेको हो ।
पहिले ऐलानी र सार्बजनिक जग्गामा घर भए पनि भुकम्पका कारण भएको घर ढलेपछी घर निर्माणका लागि पुननिर्माण प्राधिकरण संग संझौता समेत गर्न नपाएका मकवानपुरका भुकम्प पीडित परिवारले घर निर्माण गर्नका लागि निर्णय भएको सांसद खतिवडाले बताए ।
मकवानपुरमा ऐलानी र सार्बजनिक जग्गामा घर रहेका १ हजार ३ सय ३८ परिवार मध्येमा ६ सय ३२ परिवारको अहिले टुङगो लागेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।
मकवापुरको पुर्बी क्षेत्र बकैया, बागमती गाउँपालिका, मनहरी गाउँपालिका लगायतका क्षेत्रका भुकम्प पीडितलाई पहिले आफ्नो जग्गाको लालपुर्जा नभएकै कारण घर निर्माण गर्न पाएका थिएनन् ।