७१ किलो गाँजा सहित दुईजना पक्राउ

तामसालिङ खबर
१८ बैशाख २०७६, बुधबार २२:१६

हेटौडा – ७१ किलो अवैध लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७१ किलो गाँजासहित रौतहट चन्द्रपुरका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ गरेको हो ।

मकवानपुरका एसपी मुकेशकुमार सिंहका अनुसार हेटौंडाको नारायणगढ सडकखण्डस्थित लेवटबाट एक लाखमा खरिद गरेर यादवले लैजाँदै थिए । उनले विक्रीका लागि लगेको बयान दिएको प्रहरीको भनाइ छ । यादवले ना ५ ख ८१६४ नम्बरको ट्रकको क्याविन मुनि गाँजा लुकाएका थिए । उनको साथबाट ३० हजार रुपैयाँ नगद पनि बरामाद गरेको छ ।

बुधबार राति करिब १ बजेको समयमा ३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त बिशेष सुचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झा समेतको कमाण्डमा खटिएको संयुक्त टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवट स्थित सडक खण्डमा जाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुले अपराध गरेको प्रमाणित भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुनसक्ने बताइएको छ । साथै ट्रक र नगद समेत जफत हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*