कान्ति लोकपथ असोज भित्र संचालनमा आउने
हेटौडा – ६ दशकअघि निर्माण थालिएको ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको ७९ किलोमिटरमध्ये ३४ किलोमिटर कालोपत्रे सकिएको छ । बाँकी कालोपत्रे धमाधम भइरहेको र असोज अन्तिमदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको आयोजना प्रमुख विनोद सापकोटाले बताए । काठमाडौं उपत्यका र हेटौँडालाई जोड्ने यो राजमार्ग सबैभन्दा छोटो मार्ग हुनेछ ।
काठमाडौंबाट ९० किमी दूरीमा हेटौंडा पुगिने कान्ति लोकपथ परियोजना सम्पन्न भएपछि काठमाडौंदेखि २ घण्टामै हेटौंडा पुगिनेछ। यसअघि सँधै बर्षा मौसममा बन्द हुने गरेको कान्तिलोकपथ यो वर्षामा नरोकिने भएपछि यस बाटोले छुने गाउँहरु उत्साहित छन् ।
ऐतिहासिक मकवानपुर गढी समेत पर्ने यस सडकखण्डको निर्माणसँगै आसपासका क्षेत्रमा चहलपहल बढ्न थालेको छ। चार पाँच स्थानमा नयाँ होटल खुलेका छन्। मानिसहरुको चहलपहल बढेसँगै सडक आसपास नयाँ घरहरु समेत बाक्लिन थालेका छन्।
सडक संचालनमा आएको लामो समय भैसकेपनि हिउँदमा मात्रै गाडी चल्थ्यो। यो बर्ष बर्खामा ठूला सवारीसाधन समेत संचालन गर्न दिने योजना रहेको आयोजना प्रमुख विनोदप्रसाद सापकोटाले जानकारी दिए ।