मनहरीको पशुपतिनाथ माविले शैक्षिक क्यालेण्डर प्रकाशन

तामसालिङ खबर
१२ बैशाख २०७६, बिहीबार १८:११

हेटौडा (मनहरी) – मनहरीको मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ सालको शैक्षिक क्यालेण्डर बिहीबार प्रकाशन गरेको छ । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष माधब गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडाअध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्यतामा शैक्षिक क्यालेण्डर लोकार्पण गरेका हुन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तीनवटा आधारभुत विद्यालय समेटेर निर्माण गरिएको क्यालेण्डर वडा नं ४ का ३ वटा र वडा नं ३ को एउटा गरी चारवटै विद्यालयका बालबालिकालाई निशुल्क उपलब्ध गराईने भएको छ । गतबर्षदेखि विद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशन सुरु गरेको हो । चारवटै विद्यालयका बालबालिकाको शैक्षिक सुधारका लागि शैक्षिक एकरुपता कायम गर्न क्यालेण्डरले महत्वपूर्ण भूमिका निर्बाह गर्ने वडाअध्यक्ष खड्काले बताए ।

क्यालेण्डरले शिक्षक, विद्यार्थी र अभिभावकमा भावनात्मक रुपमा सम्बन्ध कायम गर्न, शैक्षिक गुणस्तरमा एकरुपता कायम गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने अध्यक्ष खड्काले बताए । पशुपतिनाथ माविले आधारभुत तहको विद्यालय सृजना प्रावि, नवज्योति प्रावि र चेपाड. प्राविमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि सामुहिक आचारसंहिता निर्माण गरी लागू गर्न लागेको विव्यस अध्यक्ष माधब गौतमले जानकारी दिए ।

विद्यालयले चालु शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने निर्णय भएको छ । साबिक शिशु कक्षाबाट अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न लागिएको हो । वडाअध्यक्ष खड्काले आफ्नो छोरालाई पशुपतिनाथ माविमा भर्ना गरेका छन् । सामुदायिक विद्यालयमा सुधार गर्नका लागि आफूबाटै पहल सुरु गरिएको वडाअध्यक्ष खड्काले बताए ।

सबै अभिभावकको साथ र सहयोग प्राप्त हुनेमा आफू आशाबादी भएको अंग्रेजी माध्यम संचालन गर्न निर्माण गरिएको समितिका संयोजक प्रकाश थापाले बताए । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा आर्थिक स्रोत पहिचान तथा गुणस्तर सुधार गर्न बालमुकुन्द ढकालको संयोजकत्वमा समिति निर्माण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*