राक्सिराङमा छोराछोरी नपढाउनेलाई सेवासुविधाबाट वञ्चित

तामसालिङ खबर
९ बैशाख २०७६, सोमबार ०८:३३

हेटौंडा– छोराछोरी स्कुल भर्ना नगर्ने अभिभावकलाई राक्सिराङ गाउँपालिकाले सेवासुविधाबाट वञ्चित गर्ने भएको छ । गाउँपालिकाको गाउँ शिक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो ।

विपन्नताका कारण पढ्न नपाएकाहरूलाई विद्यालय पोसाकसहितका सामग्री उपलब्ध गराएर निःशुल्क पढाउने बैठकको निर्णय छ । चेपाङ बाहुल्य उक्त क्षेत्रका बालबालिका गरिबीकै कारण विद्यालय भर्ना हुँदैनन् ।

गरिबीका कारणले छोराछोरी पढाउन नसकेको जानकारी दिए गाउँपालिकाले नै भर्ना गरेर पढाइदिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘आफैं जागरुक भएर नपढाउने र आर्थिक अभावले नसकेका भए पनि गाउँपालिकालाई जानकारी नगराउनेलाई चाहिँ सेवासुविधावाट वञ्चित गर्नेछौ,’ उनले भने ।

राक्सिराङले यस शैक्षिक सत्रमा गाउँपालिकाभित्रका पढ्ने उमेरका बालबालिकालाई स्कुल भर्ना गराउने अभियान चलाउने निर्णय गरेको छ । विद्यार्थी भर्नाका लागि गाउँपालिकाले ‘विपन्न चेपाङ, तामाङ सारा, शिक्षा दिने राक्सिराङको अभिभारा’ भन्ने मूल नारा तय गरेको छ ।

गाउँपालिकाले विभिन्न विद्यालय क्षेत्रमा भर्ना अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । उक्त गाउँपालिकामा साक्षारत दर अत्यन्त कमजोर छ । २६ हजार १ सय ९२ जनसंख्या रहेको गाउँपालिकामा ३५ प्रतिशत जनसंख्या मात्र साक्षार छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*