धरान–चतरा सडकखण्ड धमाधम कालोपत्रे हुदै

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार ०८:४५

मकवानपुर (बाग्मती) – पुर्बपश्चिम पहाडी लोकमार्ग झन्डै ३१८ किमि लामो धरान–चतरा–हेटौंडा सडकको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ ।

उक्त सडकको पश्चिमी क्षेत्रतर्फ १७ किलोमिटर कालोपत्रे भइसकेको छ । पूर्वी खण्डमा १२ किलोमिटर कालोपत्रे भएको छ । धरान–चतरा सडक मकवानपुरमा ४९ किलोमिटर पर्छ ।

पश्चिमी क्षेत्रका ३३ वटा पुलमध्ये १७ वटा निर्माण भइसकेका छन । १६ वटा निर्माणाधीन अवस्थामा छन । ‘सडकतर्फ ४२ प्रतिशत र पुलतर्फ ६८ प्रतिशत काम सकिसकेको छ,’ धरान–चतरा–हेटौंडा आयोजना प्रमुख राजेशप्रसाद पौडेलले भने, ‘तोकिएको समयमा नै पुल र सडकको काम सक्नेछौं ।’

उता सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोडदै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको सडकको दुवै खण्डमा करिब ५५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सडकको तुलनामा पुल निर्माणको कार्यले तीव्रता पाएको छ । राजमार्गको पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

आयोजनाका पश्चिम खण्डका इन्जिनियर केशव ओझाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौंडा उपमहानगरपालिका ६ चौघडासम्मको कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिका ६ चौघडादेखि गौरीटारसम्म करिब २ किलोमिटर सडकमा काम हुन सकेको छैन । उच्च अदालत पाटनको हेटौंडा इजलासले सडक विस्तार नगर्न अन्तरिम आदेश जारी गरेर काम रोकेको छ । स्थानीयवासीले घर टहराको क्षतिपूर्ति मात्र होइन, जमिनको पनि मुआब्जा पाउनुपर्ने माग राख्दै अदालतमा रिट निवदेन दर्ता गराएका थिए ।

आव ०६४–०६५ देखि सुरु भएको उक्त योजनामा सरकारले बर्सेनि ८ करोडदेखि २५ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको थियो । यो सडकले भित्री मधेसका चार जिल्ला मकवानपुर–सिन्धुली–उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ र्पुयाउनेछ । धरान–चतरा सडक मकवानपुरमा ४९ किमिसहित सिन्धुलीमा १ सय ४० किमि, उदयपुरमा ११० किमि र सुनसरीमा १८ किलोमिटर पर्छ । कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*