समयमै उडान गर्नुपर्ने भएकाले मन्त्रीलाइ कुर्न सकेनौ – बुद्ध एयर
काठमाडौ – सोमबार भैरहवाबाट काठमाडौं आउने उडानमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा छुटेको भन्ने समाचारप्रति बुद्ध एयरले ध्यानाकर्षण गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको विज्ञप्तिमा भनिएको छ, ‘वैशाख २ गते काठमाडौं-भैरहवाको उडान नंं ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको बताएको छ ।
‘मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता थियो। त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०-२५ मिनेट दुरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नु हुने भन्ने जानकारी दिनुभयो ।
यदि अर्को ३०–३५ मिनेट कुर्नुपरेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्थ्यो ।’
सुरक्षित र सकभर समयमै उडान भर्नु बुद्ध एयरको पहिलो दायित्व भएकाले व्यवस्थापनको निर्णयअनुसार सो उडान वाध्यात्मक भएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।