तामाङ चलचित्र महोत्सवमा देखाईयो ‘सेमरिन मुला माया’ र ‘आप्लेङला नाम्सा’

दिलबहादुर लामा
२९ चैत्र २०७५, शुक्रबार २०:३६

काभ्रे, २९ चैत । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा शुक्रबारदेखि सुरु भएको तेस्रो तामाङ चलचित्र महोत्सवमा दुई चलचित्रहरुको प्रदर्शन गरिएको छ । २०७६ बैशाख १ गतेसम्म हुने महोत्सवमा देखाईने ५ तामाङ भाषाका चलचित्रहरुमध्ये शुक्रबार हुत्त सञ्जय लामाको निर्देशनमा बनेको ‘सेमरिन मुला माया’ र अजय स्याङ्तानको निर्देशनमा बनेको तामाङ चलचित्र ‘आप्लेङला नाम्सा’ प्रदर्शन गरिएको हो । छनौट भएका चलचित्रहरुमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु रहेका छन् ।

तामाङ सँस्कारमा स्वाँगेभाई हुने परम्परामा आधारित चलचित्र सेमरिन मुला माया चर्चित तामाङ चलचित्रहरुमध्येको एक हो । नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ । त्यस्तै तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ (मितबाको गाउँ) तामाङ परम्परा र रितिथितीमा आधारित छ । परम्परातर्फको यात्राका रुपमा ब्याख्या गरिएको चलचित्रलाई अजय स्याङ्तानले निर्देशन गरेका हुन् । छेम्बेल ह्योल्मोको निर्माणमा बनेको चलचित्रको कथा लेखन दोर्जे तामाङले गरेका छन् । चन्द्र कुमार दोङको संगितमा तयार भएका गीतहरुमा शशिकला मोक्तान, निर्मला घिसिङ, मिन कुमार दोङ र चन्द्रकुमार दोङको आवाज सुन्न सकिन्छ । राजु किराँतीको द्वन्द निर्देशन रहेको चलचित्रमा चक्र महर्जनको छायाँकन रहेको छ । चलचित्रको चु नाम्सा, मायाला धिमनाम सोगे, ताम्बासे ताम्सुर आरब्साम लगायतका गीतहरु चर्चामा छन् । चलचित्रमा प्रेम तामाङ, छेम्बेल ह्याल्मो, बुईसाल लामा, कान्छीमाया ह्योल्मो, बद्रि थिङ, सञ्जु केसी, प्रेम ग्याल्बो ह्योल्मो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव सुरु भएको हो । तिन दिने महोत्सबवको औपचारिक उद्घाटन भने चैत ३० गते शनिबार बिहान हुनेछ । कार्यक्रम संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल प्रसाद बँस्कोटाको प्रमुख आतिथ्यतामा हुने बताइएको छ । चैत्र ३० गते नै बिहान ९ बजे रोशन फ्युबाद्वारा निर्देशित तामाङ चलचित्र ‘श्होङ’ र बिहान ११ बजेदेखि बाबु थिङद्वारा निर्देशित चलचित्र ‘रुङसी टिला’ प्रदर्शन गरिने छ ।

महोत्सवमा प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ । यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*