ठकुरी सहयोग संजालको छैटौ भेटघाट चैत ३० गते हेटौडामा हुदै
हेटौडा – ठकुरी सहयोग सञ्जालको छैटौ भेटघाट तिन नम्बर प्रदेशको राजधानी हेटौँडामा गर्ने भएको छ । बिहिबार हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जालले चैत्र ३० गते शनिबार हेटौँडामा हुने कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।
ठकुरीहरुको ऐतिहाँसिक स्थलमा हुन गइरहेको कार्यक्रमले अनेकतामा एकता, एकतामा हार्दिकता र राष्ट्रिय एकताको पक्षमा सन्देश दिने उद्येश्यले कार्यक्रम गर्न लागेको सञ्जालका कार्यवाहक अध्यक्ष अजय मल्ल ठकुरीले बताए । कार्यक्रममा नेपाल तथा विदेशमा रहेका करिब १ हजार ठकुरीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा उनले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही ठकुरीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई भब्य बनाउनको लागि सबै तयारी पुरा गरिएको उनको भनाई रहेको थियो । कार्यक्रमको दिन विहान जिल्ला प्रहरी कार्यालय आगाडीबाट झाँकी सहितको र्यालीले हेटौँडा बजार परिक्रमा गरेपछि कार्यक्रम स्थल क्लब हेटौँडामा पुग्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
मकवानपुर सेन वंशको राज्य भएको स्थल भएकाले पनि ठकुरीहरुको महत्वपूर्ण क्षेत्र रहेको उनको भनाई रहेको छ । कार्यक्रमले ठकुरीहरुको भेष, भाषा तथा सस्कृतिको जगेर्ना गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने समेत उनले बताए ।
पत्रकार सम्मेलनमा सञ्जालका केन्द्रीय तथा मकवानपुर जिल्ला तहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।