बागमती युवा क्लबलाई हराउँदै थ्री-स्टार सेमिफाइनलमा प्रवेश
सर्लाही – सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा रुस्लान थ्री स्टार विजयी भएको छ । थ्री स्टारले आयोजक बागमती युवा क्लबलाई ४-० ले पराजित गराउदै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदान र दर्शकको राम्रो साथ रहेता पनि राष्ट्रिय खेलाडीको वर्चस्व भएको थ्री स्टारको दबाबमा बागमती युवा क्लबले रोक्न सकिएन । सुरुमा निकै सम्हालेर खेलेता पनि खेलको २१ औं मिनेटमा गोल खान पुगे । सुनिल बलले पास दिएको क्रस बललाई सुशील राईले सहजै गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ७९ औं मिनेटमा मानसा बिभोगउलले दिएको पासमा अनिल गुरुङले डिबक्स भित्रबाट गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ८९ औं मिनेटमा सुशील राईले थप एक गोल गरे र ईन्जुरी समयमा मानसाले गोल गर्दै अन्तत ४-० को गोल अन्तरले थ्री स्टारले जितेको हो ।
खेलको म्यान अफ दि म्याच घोषित हुँदै २ गोल गरेका थ्री स्टारका सुशील राईले नगद १० हजार हात पारे । बिहिबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम ११ र एपीएफ बीच हुनेछ । बिहीबारको विजेताले सेमिफाइनलमा बैशाख ३ गते रुस्लान थ्री स्टार सँग खेल्नेछ ।
जारी प्रतियोगितामा विभागीय २ टिम विदेशी टिम भुटानको पारो क्लब नेपालका ए डिभिजन टिम र आयोजक बागमती क्लब र बागमती नगरपालिका टिम गरि १२ वटा टिमको सहभागीता रहेको छ ।