वैशाखमा ‘तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोसत्व’ हुने
काठमाडौं – तामाङ चलचित्रलाइ विश्व बजारमा प्रबर्द्धन गर्ने उदेश्यले आगामी वैशाख २६ र २७ गते नेपाल पर्यटन बोर्डको हलमा ‘तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ ।
तामाङ आवाज, सेला फाउण्डेशन र एस.सी.आरसीको संयुक्त आयोजनामा तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने र तामाङ समुदायसँग प्रत्यक्ष सरोकार रहेका विषयवस्तु समेटिएका तामाङ चलचित्र, वृत्तचित्र र म्युजिक भिडियोहरुलाई सहभागी गराउँदै पहिलोपटक तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ हुने भएको छ ।
महोत्सवले तामाङ चलचित्र उद्योगलाई गुणात्मक बनाउन प्रयास संगै बजार प्रबर्द्धनमा सहयोग पुर्याउने उद्येश्यले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । महोत्सवले तामाङ समुदायको मौलिक प्रवद्र्धनमा स्वर्ण इतिहास निर्माण गर्नेछ, एवंरीतले भावीपिँढीलाई साँस्कृतिक ज्ञान हस्तान्तरणमा सघाउने आयोजकले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ।’
महोत्सवमा प्रतिस्पर्धातर्फ फिचर फिल्म, सर्ट फिल्म र वृत्तचित्र (डकुमेन्ट्री फिल्म) लिने भने अप्रतिस्पर्धा तर्फ म्युजिक भिडियो र पहिले प्रदर्शन भइसकेका फिचर फिल्म, सर्ट फिल्म तथा वृत्तचित्रले लिन पाउने महोत्सवका निर्देशक जगत तामाङले बताउनु भयो । तामाङ समुदायको साँस्कृतिक, धार्मिक, सामाजिक, भाषिक, ऐतिहासिक लगायतका विषयवस्तुमा आधारित भएको चलचित्र महोत्सवमा संसारभरका जुनसुकै मुलुकमा बसोबास गर्ने तामाङ र गैरतामाङले पठाउन सक्ने आयोजकले बताएको छ ।
आयोजकका अनुसार चलचित्र महोत्सबमा सहभागी हुन चाहनेहरुले २०७५ चैत २३ गतेदेखि वैशाख २२ गतेभित्र बुझाइसक्नुपर्नेछ । महोत्सवमा सहभागिताका लागि आवेदन दिए बापत् कुनै शुल्क नलाग्ने बताएको छ ।
महोत्सवका ग्राण्ड जुरी अवार्ड (सेमरी छोरङान ट्रफी) विजेताले ५० हजार, बेष्ट डकुमेन्ट्री अवार्ड (ट्रफी) विजेताले २५ हजार, बेस्ट सर्ट फिल्म अवार्ड (ट्रफी) विजेताले २५ हजार, अडियन्स च्वाइस अवार्ड (ट्रफी) विजेताले १० हजार र इन्करेज्मेन्ट अवार्ड ट्रफी विजेताले रु. १० हजार गरि पाँच विधामा पुरस्कार रहेको महोत्सबको संयोजक मिनकुमार मोक्तानले बताउनु भयो ।
महोत्सवमा ‘तामाङ खाना, भेषभूषा, कला प्रदर्शनी साथै तामाङ दृष्य कविताका प्रस्तुति रहने छ । केहि महिना अघि दुई दिने चलचित्र स्क्रीप्ट लेखन सम्बन्धी कार्यशालामार्फत् फिल्माङ्कन भइसकेको महोत्सवको अध्यक्ष विगेन्द्रसिंह वाइबा तामाङले जानकारी दिए ।
प्रेस विज्ञप्ति हेर्नुस