मनहरी गाउँपालिकाको चौथो गाउसभा रजैयामा सम्पन्न

जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने बिधेयक सहित चार वटा बिधेयक पारित
तामसालिङ खबर
२२ चैत्र २०७५, शुक्रबार २१:२०

हेटौंडा (मनहरी)– मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाकोे चौथो गाउँ परिषद्को सभा शुक्रबार गाउपालिकाको केन्द्र रजैयामा सम्पन्न भएको छ । सभामा पेश भएका ४ वटै ऐन सर्वसम्मत रुपमा पास भएका छन् ।

बिधेयक समितिका संयोजक तथा २ नम्बर वडाध्यक्ष बिर बहादुर घालनले प्रस्तुत गरेको सबै बिधेयक तथा ऐनहरुलाई जनप्रतिनिधिहरुले सहमत जनाउदै पास गराएका हुन् । गाउँ परिषदमा समाज सुधार ऐन, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, आर्थिक ऐन संशोधन तथा हालसम्मको प्रगति विवरणबारे छलफल गरेको थियो । पास भएका ऐनहरु राजपत्रमा प्रकाशन भएपछि लागुहुने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जनाकारी दिए ।

गाउँपालिकाकाले बिबाह गर्दा नातेदार सहित ५१ जनाभन्दा बढी जन्ती तथा भोज भत्तेर सहभागी गराउन नपाउने प्रावधान राखिएको छ । धार्मिक स्थल विद्यालय तथा सार्वजनिक स्थलको ५ सय मिटर वरपर मदिरा तथा सुर्तिजन्य पदार्थ प्रयोग तथा बेचबिखन गर्न नहुने र साँझा ५ बजे देखि ८ बजेसम्म मात्रै मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार गर्ने पाउने ऐनमा उल्लेख गरिएको छ ।

त्यसैगरी ऐनले विवाहमा १ हजार रुपियाँभन्दा बढी नगद वा जिन्सी उपहार स्वरुप दिन नपाउने व्यवस्था गरिएको छ भने रकम तोकेर सप्ताह, महायज्ञ लगायत कार्यहरुमा चन्दा माग्नका लागि निषेध गरेको छ ।

गाउँपालिकाले केही समयअघि जुवा मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै वडामा पुगी जाँडरक्सी तथा जुवातास नियन्त्रणबारे सुझाव संकलन समेत गरेको थियो । गाउसभामा जाँडरक्सी र जुवातास लगायत बिकृति नियन्त्रण गर्नका लागि सामाजिक व्यवहार सुधार सम्बन्धी बिधेयक समेत पारित गरेको छ ।

गाउँसभामा पेस भएको बिधेयकलाई गाउँसभाका सदस्यहरुले सुझावसहित पारित गरेका थिए । पारित भएको बिधेयकलाई अध्यक्षले प्रमाणिकरण गरी राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ । गाउँसभाले स्थानीय स्वास्थ्य तथा सरसफाई सम्बन्धी बिधेयक पनि पारित गरेको छ भने यसअघि कार्यान्वयनमा आएको आर्थिक बिधेयक र बिनियोजन विधेयकलाई संशोधन गरेको छ ।

स्वास्थ्यतर्फ गाउँपालिकाको स्वीकृतिमा संचालन हुने १५ शैयासम्मको अस्पतालले कम्तीमा एक जना डाक्टर, ४ जना स्टाफ नर्स, एक जना ल्याब टेक्निसियन तथा आवश्यक कर्मचारी राख्नु पर्ने प्रावधान राखिएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले चालु आर्थिक वर्षको फाल्गुन मसान्त सम्मको प्रगति विवरण प्रस्तुत गरिन् । गाउँपालिकामा आयोजना संख्या ४ सय ६३, पूँजीगततर्फ आयोजना संख्या २ सय ३१ तथा चालु तर्फका कार्यक्रम २ सय ३२ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मनहरी गाउँपालिकाले प्रक्षेपण गरेभन्दा बढी आन्तरिक आय बृद्धि गरेको छ । मालपोत, सिफारिस दस्तुर लगायत आर्थिक ऐनले व्यवस्था गरेका शीर्षकहरुबाट चालू आर्थिक बर्षको ८ महिनाको अबधिमा ४७ लाख ३२ हजार ५ सय ७० रुपियाँ संकलन भएको छ । गाउसभामा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ट तथा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं लगायतको उपस्थिति रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*