घोराहीमा थारु भाषा सरकारी कामकाजको भाषा हुने
दाङ : दाङ्को घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय पारित गरेको हो ।
‘अब घोराही उपमहानगरपालिका र यस मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषाको रूपमा लागू हुनेछ’ मेयर नरुलाल चौधरीले भने ‘थारु भाषाबाट आएका निवेदनहरू दर्ता गरेर कार्य सम्पादन गर्न मैले निर्देशन दिइकेकोछु ।’
माघ १ गतेदेखि उपमहानगर र सबै कार्यालयहरूमा मेयर चौधरी सहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीले थारु भाषा मै सेवा लिन सक्ने छन् । ‘थारु समुदायका मानिसहरूलाई आफ्नै भाषामा सम्वाद गर्न र निवेदन दिन सजिलो होस् भनेर त्यसलाई सरकारी कामकाजको भाषा बनाइएको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमका लागि परेका निवेदनको मूल्यांकन गरि छनौट गर्न आर्थिक समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा एक समिति गठन गरिएको मेयरका प्रेस संयोजक निमुसंगम घर्तीले बताए ।