एसईईका बिद्यार्थीलाई राक्सिराङ्ग गाउँपालिकाद्वारा खाद्यान्न वितरण
चैत्र, हेटौडा (राक्सिराङ्ग) – बिहिबार देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले खाद्यान्न वितरण गरिएको छ ।
राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा एसईईको केन्द्रमा परेका २०३ जना परीक्षार्थीहरुलाई खाद्यान्न उपलब्ध गराएको हो । परीक्षा केन्द्र नजिक घर भएकाबाहेक टाढाबाट आएका विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
विद्यार्थीको सहजताको लागि खाद्यान्न सहयोग गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उक्त परीक्षा केन्द्रमा खाद्यान्न अभाव खेप्दै आएका राक्सिराङको राष्ट्रिय मावि सिलिंगे, खैराङको कालिका मावि, श्री मावि देवीटार र कालिका मावि राक्सिराङका विद्यार्थीहरु रहेका छन् । गाउँपालिकाले प्रतिपरीक्षार्थी साढे १२ केजी चामल, आधा केजी नुन, एक लिटर तेल र एक केजी दाल उपलब्ध खाद्यान्न उपलब्ध गराएको हो ।
यसअघि मनहरीको विभिन्न परीक्षा केन्द्रबाट परीक्षा दिँदै आएका राक्सिराङका परीक्षार्थीले पहिलो पटक आफ्नै पालिकाको केन्द्रबाट परीक्षा दिँदै छन्। राक्सिराङका ५ वटा माध्यमिक विद्यालयबाट यसवर्ष २ सय ८१ जना विद्यार्थीले एसईई परीक्षामा भाग लिँदैछन् ।
टाढाबाट आएका परीक्षार्थीहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । चेपाङ जातीको बाहुल्य रहेको राक्सिराङबाट १ सय ४ जना चेपाङ विद्यार्थीहरुले एसइई दिँदै छन्। मकवानपुरबाट यस पटक ६ हजार १ सय ६३ जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन्।