राक्सिराङमा आज देखि कृषि हाटबजार मेला
पौष, हेटौडा (राक्सिराङ) – स्थानीय उत्पादनको प्रबर्द्ध र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा आजबाट हाटबजार सञ्चालन हुँदै छ ।
गत बर्ष फाल्गुन १ गते शुरु गरिएको कृषि हाट बजार अविरल बर्षा र विभिन्न ठुलो चाडबाडले रोकिएको थियो । पुष १५ गते आजबाट पुन: अब हरेक महिनाको १ र १५ गते कृषि हाट बजार मेला संचालन हुने गाउँपालिका अध्यक्ष राज कुमार मल्ले जानकारी दिनु भयो ।
हाट बजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा, रैथाने उत्पादन, गिट्ठा भ्याकुर, चिउरीको मह, गहत, मास, फापर जस्ता स्थानीय उत्पादनको प्रबर्द्धन र खरिद बिक्री गरिने गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो।
स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गरी व्यावसायिक, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रबर्द्धन गर्ने उद्धेश्यका साथ हाट बजार मेला संचालन गर्न लागिएको छ ।
कृषि हाटबजार मेला ब्यबस्थापन संयोजक कोपिला गोलेले राक्सिराङ कृषि हाट बजारका लागि रैथाने कृषि बाली संकलन र मेला व्यवस्थापनमा तयारी पूरा भएको भन्दै सबै कृषक तथा राक्सिराङ बासिन्दा उपस्थित हुन आग्रह गर्नुभएको छ ।
कृषकहरुको उत्पादनको बजारीकरण र प्रबर्द्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्ने वातावरण सिर्जना गर्नको लागि निरन्तरता दिएको गाउँपालिकाले जनाएको छ ।
रैथाने उपजहरुको प्रदर्शनी तथा विक्री वितरण, स्थानी खानाका परिकारका परिकार गरी २० वटा स्टल राखिनेछन् । हाट बजारको उद्घाटन समारोहमा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति, जातीय पहिचान झल्कने सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शन हुने आयोजकले जनाएको छ ।