हेटौडाको कमानेमा सडक महोत्सव हुने
पुष, हेटौडा – यही पुस ६ र ७ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८, कमानेमा सडक महोत्सव हुने भएको छ । ‘कमानेको खाऔं, कमानेलाई चिनौं’ भन्ने नारासहित कमाने स्थित हेटौंडा-फापरबारी रोडमा महोत्सव सञ्चालनको तयारी गरिएको हो ।
वडामा रहेका साना उद्योग तथा उद्यमीको उत्पादनलाई बजारीकरण गर्दै स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्धेश्यले सडक महोत्सव सञ्चालनको तयारी गरिएको आइतबार वडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
व्यापार प्रर्बद्धन एवम् प्रदर्शनी सडक महोत्सव आयोजक समितिका संयोजक बिष्णुप्रसाद अर्जेलले वडामा रहेका १९ टोल विकास सस्थामा आबद्ध रहेका महिला उद्यमीले उत्पादन गरेको स्थानीय बस्तुलाई बजारीकरणमा महोत्सवले मद्दत पुर्याउने बताए । उनका अनुसार विभिन्न समयमा हेटौंडा उपमहानगरबाट लिएका विभिन्न प्रकारका तालिममा सहभागी आमा समूहले उत्पादन गरेका सामग्री महोत्सवमा राखिनेछ ।
कमानेको निम चोकदेखि सागर चोकसम्मको करिब १८० मिटर क्षेत्रमा सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन र खानाको गरी ७० वटा स्टल रहने बताइएको छ । महोत्सवले विशेष गरी वडाभित्रको उत्पादनलाई जोड दिएको भएपनि बाह्य वडाहरुवाट पनि स्टलको आवश्यकता अनुसार सहभागिता जनाउन सक्ने व्यवस्थापन गरिएको प्रचाप्रसार संयोजक सुदिपराज गिरीले बताए ।
प्रदर्शनी मेला तथा साँस्कृतिक कार्यक्रमलाई सफल बनाउँनका लागि ८ नम्बर वडा कार्यालयले १०१ सदस्य व्यापार प्रर्बद्धन समिति बनाएर व्यवस्थित बनाउने काम गरिएको छ। महोत्सवका लागि वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०/०८१ मा छुट्याएको ३ लाख रुपियाँ सहित अन्य सहयोगीहरुबाट जुटाएर ७ लाख रुपियाँ खर्च अनुमानसहित कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
व्यापार प्रर्बद्धन एवम् प्रदर्शनी सडक महोत्सव सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष रामकृष्ण थापाले अन्य ठाउँका भन्दा फरक शैली र दृष्टिकोणसहित महोत्सव सञ्चालन गर्न खोजिएको बताए । ऐतिहासिकता केही नभएपनि मौलिकतासहितको कार्यक्रमको कल्पना गरिएको उनको भनाई थियो । सम्मेलनमा वडा सदस्यहरु गोरखनाथ राय, राजु मोक्तानसहित विभिन्न समिति तथा उपसमितिका संयोजकहरुको सहभागिता थियो ।