मनहरी ५ जोड्न राप्ति खोलामा बन्यो अस्थायी पुल, चाडपर्व लगतै पक्की पुलको शिलान्यास हुने
असोज, हेटौडा (मनहरी) – राप्ति खोलामा पानीको बाहब घटेपछि पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ५ र ९ जोड्ने अस्थायी पुल निर्माण भएको छ। मनहरी ९ को रजैया र ५ नम्बर वडाको दर्दरा, बसन्तपुर र दिल्लिपुर जोड्ने राप्ति खोलामा अस्थायी पुल निर्माण सम्पन्न भएको हो ।
चाडपर्वको बेला वडाबासीको आवतजावत बाक्लिने र खोलाको बाहब घटेकोले आर्थिक बर्ष २०८०/८१ को ५ लाख बजेट बिनियोजन गरि ह्युम पाईप सहितको अस्थायी पुल निर्माण गरिएको ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो। अस्थायी पुल बनेपछि गाउँमा उत्पादन भएको कृषि उपजका तरकारी तथा अन्न बालिहरु सहजरुपमा बजार सम्म पुर्याउन सहज भएको उहाँको भनाई छ।
अस्थायी पुलको लागि ३४ वटा ह्युमपाइप, तार जाली सहितको गिट्टी बालुवा,ढुङ्गा प्रयोग गरिएकोले सामान्य भल बाढीले क्षति खासै नहुने अवस्था रहेको छ । अस्थायी पुल बनेपछि साना, मझ्यौला देखि ठुला लोड सवारीसाधन समेत आवतजावतमा सहज भएकोपछि वडाबासीलाई दैनिक कार्यमा हिड्डुल गर्न लाभान्वित भएको छ ।
राष्ट्रिय मार्गसंग जोड्न स्थायी पक्की पुलको टेण्डर भएर बिटी निर्माण सेवा काठामाण्डौले ठेक्का पाइसकेको छ, अब चाडपर्व लगतै शिलान्यास गरेर निर्माण कार्य बढ्ने वडाअध्यक्ष अधिकारीले बताउनुभयो।