गायक रोविन तामाङको अन्तिम संस्कार आइतबार गरिने
असार, काठमाडौ – मंगलबार निधन भएका गायक तथा कलाकार रोविन तामाङको आइतबार अन्तिम संस्कार गरिने भएको छ ।
काठमाडौंको महाराजगन्ज स्थित टिचिङ अस्पतालमा बुधबार पोस्टमर्टम गरिएपछि आइतबार स्वयम्भुमा अन्तिम संस्कार गर्न लागिएको पारिवारिक स्रोतले जनाएको छ ।
मंगलबार साँझ ६ बजे काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ विष्णुमती चिस्यानी स्थित घरमा तामाङको निधन भएको थियो। ‘रविन एन्ड द न्यू रिभोलुसन ब्यान्ड’ का संस्थापक तामाङको मुटुमा समस्या देखिए पनि मृत्युको यकिन कारण खुल्न बाँकी रहेकाले अन्तिम संस्कार गरिएको थिएन ।
मृत्युको कारण पत्ता लगाउन रोविनको रगतको नमूना र भिसेरा संकलन गरिएको थियो ।