मनहरी ५ का ३७ घर परिवारको भुमिहिन दलित र भुमिहिन सुकुम्बासी पाए निस्सा
बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका ५ नम्बर वडा कार्यालयले ३७ घर परिवारलाई निस्सा बितरण गरेको छ। बिहिबार एक कार्यक्रमको बीच भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई पालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) को प्रमुख आतिथ्यतामा वडाले निस्सा बितरण गरेको हो।
बितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पुलामी मगरले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई आफ्नै पालिका भित्र ब्यबस्थापन हुनेगरी लालपुर्जाको ब्यबस्था मिलाउन पहल गर्ने बताउनुभयो। पालिका भित्र सयौं बिगाहा जग्गा खाली रहेकोले जनताको ब्यबस्थापन आफ्नै पालिका भित्र गराउने तर्फ गाउँपालिका अग्रसर हुने बताउनुभयो ।
पचासौं बर्ष देखि जनता बसोबास गर्दै आईरहेको स्थानमा राष्ट्रिय निकुञ्जले जस्तो नीति लागू गराए त्यही मान्नु पर्छ भन्ने नभएको भन्दै स्थानिय सरकार र बन ऐन बाझिएकोबारे प्रदेश सरकारलाई समाधानको लागि पहल शुरु गरिसकेको बताउदै जनताको हक र अधिकार स्थापनाको लागि जहाँ जानुपरेपनी आफुहरु जान तयार रहेको बताउनुभयो।
त्यस्तै, वडा अध्यक्ष दिपेन्द्र अधिकारीले भुमीहिन दलित र भुमिहिन सुकुम्बासीलाई निस्सा बाड्न कसैले रोकेर रोक्न नसक्ने भन्दै बनको पत्र तर्फ लक्षित गर्दै जनता जनार्दन भएको बताउनुभयो। सदियौं देखि राष्ट्रिय निकुञ्ज भन्दा अगाडि देखि भोगचलन गर्दै आईरहेको हाम्रो जमिनको स्वामित्व कसरी वनको भयो भन्दै सोझा जनतालाई घरी-घरी नजिस्काउन आग्रह गर्नुभयो। निस्सा प्राप्त गर्नेहरुमा ७ घर परिवार भुमिहिन दलित र ३० घर परिवार भुमिहिन सुकुम्बासी रहेका छन्।