विद्यालयको दिवा खाजामा कोदो, मकै र फापरका परिकार

तामसालिङ खबर
१८ माघ २०७९, बुधबार १७:५७

माघ, हेटौडा (गढी) – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले दिवा खाजामा स्थानीय रूपमै उत्पादित कोदो‚ मकै, फापर बालीको परिकार खुवाउन शुरु गरेको छ । गाउँपालिकाले विद्यालयहरूमा बाँडिने दिवा खाजामा गाउँमै फलेका अन्नबालीको प्रयोग गर्ने निर्णय गरेसँगै बिहीबारदेखि २ वटा विद्यालयमा खुवाउन शुरु गरेको हो ।

गाउँपालिका ६, डुम्रेकुनास्थित जाल्पादेवी माध्यमिक विद्यालय र वडा नं. २ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा खाजाका रूपमा स्थानीय रैथाने बालीको परिकार खुवाएको हो ।

पालिकाले दिवा खाजामा कोदो‚ मकै र फापरको ढिंडोका साथै सिमी, बोडी, मस्याङका परिकार समावेश गरी साताको एक दिन बिहीबार अनिवार्य रूपमा स्थानीय बालीको परिकार दिनुपर्ने निर्णय गरेको थियो । विद्यालयमा कोदोको हलुवा, फापरको फुलौरा र सेल खुवाउन सुरू गरिएको गाउँपालिकाका कृषि शाखा अधिकृत चन्द्रकान्त चौधरीले बताए ।

चौधरीका अनुसार पालिकाले कोदो, मकै, फापरका ढिंडो लगायत परिकार बनाउने पहिलो चरणको तालिम माघ १३ र १४ गते दिइसकेको छ । गाउँपालिकामा रहेका ३८ वटा सामुदायिक विद्यालयमा ६ हजार ७४ विद्यार्थी छन् । गाउँपालिकाले कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूलाई आफ्नै स्रोतबाट दिवा खाजा खुवाउँदै आएको छ । बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि संघीय सरकारको अनुदानमा दिवा खाजा खुवाइन्छ ।

चालू आर्थिक वर्षमा दिवा खाजाका लागि संघीय सरकारले एक करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ । मकवानपुरगढी गाउँपालिकाले ३५ लाखको बजेट दिवा खाजाका लागि छुट्याएको छ । दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँ उपलब्ध हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*