पुरानो अवस्थाका जहाजहरू जाँचबुझ गर्न जनमोर्चाको माग

तामसालिङ खबर
१ माघ २०७९, आईतवार १९:१७

माघ, काठमाडौं – राष्ट्रिय जनमोर्चाले नेपालमा प्रयोग भइरहेका धेरैजसो जहाजहरू पुरानो रहेको र तिनै जहाजहरूबा बारम्बार दुर्घटना भइरहेको भन्दै त्यस्ता जहाजको जाँचबुझ गर्न सरकारसँग आग्रह गरेको छ ।

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनापछि पार्टीले जारी गरेको शोक विज्ञप्तिमार्फत जनमोर्चाले यस्तो आग्रह गरेको हो । ‘नेपालमा प्रयोगमा रहेका धेरैजसो जहाजहरु पुरानो अवस्थामा रहेका छन् ।

त्यसरी पुराना भएका जहाजहरु प्रयोगमा ल्याउन मिल्थ्यो वा मिल्दैन भन्ने विषयमा सरकारले आवश्यक जाँचबुझ गर्न कुनै कदम उठाएको देखिंदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसरी लापरवाही गरिँदा विभिन्न दुर्घटनाको जोखिम भइरहने अवस्था रहेको छ । त्यसबारे आवश्यक कदम उठाउनका लागि हामीले नेपाल सरकारको ध्यान पनि आकर्षित गर्दछौँ ।’

पार्टीले यति एयरलाइन्सको जहाज आज पोखरामा दुर्घटना भएको र दर्जनौं यात्रुहरूले ज्यान गुमाउनु परेको घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, दुर्घटनामा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*